पर्साको पटेर्वासुगौली गाउँपालिका–४ सुगौलीकी रामकृतिदेवी घरको दैनिक कामकाजमा सीमित थिइन् । आयको प्रत्यक्ष उपाय थिएन । पटेर्वासुगौली गाउँपालिकाबाट ढकिया पथिया बनाउने तालीम लिएपछि उनको दिनचर्या फेरिएको छ । घरायसी कामबाट बचेको समयमा ढकिया पथिया बनाएर उनले मासिक २० हजार रुपैयाँसम्म आम्दानी भइरहेको उनले सुनाइन् । ‘गाउँपालिकाबाट सहयोग मिलेको छ । आम्दानी पनि राम्रो नै छ र योभन्दा पहिले पनि गाउँघरमा ढकिया पथिया बनाउने गरेको थिए । तर, घरायसी कामको प्रयोजनको लागि मात्र बनाउँदा कुनै आम्दानी थिएन । अहिले एउटा ढकिया पथिया ३ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्मका बिक्री भइरहेको छ ।’
थारु समुदाय सीप र संस्कृतिका हिसाबले धनी मानिन्छ । पर्साको पटेर्वासुगौली गाउँपालिकाले यही सीपलाई आय आर्जनको उपाय बनाउने अभियान चलाएपछि रामकृतिदेवीजस्ता २ दर्जन बढी महिलाले आफ्नो श्रमलाई आय आर्जनको माध्यम बनाएका छन् । गाउँपालिकाले पालिकाले ‘एक गाउँ एक उद्यम’ अभियानअन्तर्गत स्थानीय महिलालाई ढकिया पथिया बनाउन प्रेरित गरेको हो । थारु समुदायका महिलाको मिहिनेतले उनीहरूको आयस्तर उकासिएको छ । बेरोजगार महिलाले फुर्सदको समयमा घरमै बसेर कहिल्यै नसोचेको आम्दानी गर्न पाएका छन् ।
पालिका अध्यक्ष दिनेशकुमार चौधरीका अनुसार दाङ जिल्लाबाट प्रशिक्षक झिकाएर ढकिया पथिया बनाउने तालीम दिइएको हो । स्थानीयस्तरमा उत्पादित आकर्षक डिजाइन र विभिन्न आकारप्रकारमा उत्पादित ढकिया पथियाले बजारमा राम्रो स्थान पाएपछि महिलाहरू आत्मनिर्भर बनेका छन् । अहिले पटेर्वासुगौलीका २५ जना महिलाले समूहमा आवद्ध भएर ढकिया पथिया बनाइरहेका छन् । पालिकाले यसका लागि अहिले २ जना प्रशिक्षकसमेत तयार पारिसकेको छ ।

पटेर्वासुगौलीका महिलाले बुनेको ढकिया पथिया स्थानीय आवश्यकताको पूर्तिमा मात्र सीमित छैन । सदरमुकाम वीरगञ्जमा हुने औपचारिक कार्यक्रममा समेत उपहार दिन यसको माग हुने गरेको पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष चौधरी बताउँछन् । वीरगञ्ज, काठमाडौंलगायतका शहरमा आयोजना हुने मेलामहोत्सवका प्रदर्शनीमा समेत ढकिया पथिया देख्न पाइन्छ । पालिकाले यसको बजारीकरणमा सहजीकरण गरेको छ । पर्सा जिल्ला भारतको बिहार राज्यसँग खुला सिमानाले जोडिएकोले सीमावर्ती भारतीय क्षेत्रबाट पनि यसको माग आउने गरेको छ । भारतको नयाँ दिल्ली, अमेरिका र फ्रान्समा समेत पटेर्वासुगौलीको यो उत्पादन पुगिसकेको चौधरीले जानकारी दिए ।
‘स्थानीय स्रोत साधनमा आधारित उत्पादन बनाएर आय आर्जनमा महिलाहरूलाई प्रोत्साहित गर्न बजारीकरणको जिम्मेवारी पालिकाले लिएको छ । थारु समुदायको पहिचानसँग जोडिएको ढकिया र पथिया अहिले स्थानीय कार्यक्रम, महोत्सवमा उपहार दिनेदेखि छिमेकी देश भारत र समुद्रपारिसमेत पु¥याइएको छ,’ चौधरीले भने ।
थारु समुदायमा ढकिया पथियाको निकै महत्व रहेको छ । पूजाको लागि होओस् वा शुभकार्य, विवाहमा दाइजो तथा मृत्यृ संस्कार, दानको रुपमा ढकिया पथिया दिने प्रचलन छ । घरायसी काममा मात्र होइन, आफ्ना चेलीबेटीलाई कोसेली दिन पनि प्रयोग गरिन्छ । केही समययता औपाचारिक कार्यक्रममा स्वागतदेखि बिदाईमा मायाको चिनोको रुपमा पनि दिन थालिएको छ ।
देश विदेशका विभिन्न ठाउँबाट माग आइरहेको छ । यसले उत्पादनमा आवद्ध स्थानीय महिलालाई उत्साहित बनाएको पालिका उपाध्यक्ष ममता महतो थारुले दाबी गरिन् । यसको मुख्य कच्चा पदार्थ मोज स्थानीय जंगल र ‘रखात’बाट प्राप्त हुन्छ । त्यसलाई आकर्षक देखाउन प्रयोग हुने रङ भने बजारबाट किन्नु पर्दछ । यसमा अत्याधिक मिहिनेत लाग्ने र कुनै आयआर्जन नहुने भएपछि परम्परा नै लोप हुने अवस्थामा पुगेकोमा अहिले पालिकाले महिलाहरूको समूहमार्फत् काम लगाएपछि स्थानीय महिलाहरूका लागि आर्थिक उपार्जनको गतिलो माध्यम बनेको हो ।
गाउँपालिका उपाध्यक्ष थारु समुदायका महिलाले चलाएको उद्यम र उत्पादनको बजार व्यवस्थापनको जिम्मा पालिकाले नै लिएको बताउँछिन् । ‘बाहिरबाट माग आउँछ । मागअनुसार यहाँका दिदीबहिनीहरूले तयार पारेको ढकिया पथिया पठाउने गरेका छौं,’ उनले भनिन् । थारु समुदायको पहिचानसँग जोडिएको यो उत्पादनलाई स्थानीय महिलाहरूको आय आर्जनको उपाय बनाइएको पनि उनको भनाइ छ ।

‘ढकिया पथिया थारु समुदायको रीतिरिवाजसँग सम्बन्ध राख्दछ । आफ्ना छोरीचेलीको विवाह गर्दा ढकिया पथियामा कोसेली दिनु पर्छ । अहिले यसमा कति कोसेली आयो भनेर समुदायका मान्छेले हेर्ने चलन छ । घरायसी सामानहरू राख्न पनि यसको प्रयोग हुन्छ । अहिले खेतिपाती र ग्रामीण दिनचर्यामा कमी आएपछि ढकिया पथिया बनाउने चलन पनि कम हुँदै गयो । यो अवस्थामा स्थानीय परम्पराको जगेर्नाका लागि मात्र नभएर यसलाई आय आर्जनको माध्यम बनाउने अभियान चलाएका हौं,’ उपाध्यक्ष थारुले भनिन् ।
पालिकाले स्थानीय महिलाहरूलाई यसको उत्पादनमा पोख्त बनाउन बेलाबेलामा तालीम दिँदै आएको छ । गत वर्ष अन्तराष्ट्रिय नारी दिवसमा समेत १५ दिने ढकिया पथिया तालिम दिइएको गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सोनम चौधरीले बताइन् । ‘स्थानीय महिलाहरूले बनाएको ढकिया पथिया अहिले विदेशमा समेत माग हुनु उत्साहको कुरा हो । यसबाट दैनिक काम सकेर फुर्सदको बेला घरमै काम गरेर मासिक १५÷२० हजार रुपैयाँ कमाउन सक्ने भएका छन् । महिलाहरू आर्थिक रुपमा आत्मनिर्भर भएका छन् । आफ्नै कमाइ खर्च गर्न सक्ने भएका छन्,’ उनले भनिन् ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ १८:०१