बारा कञ्चनपुरकी समिना हवारीको कक्षा ८ पढ्दापढ्दै पर्सा गम्हरियाका समसुल हवारीसँग बालविवाह भयो । विवाह गर्दा उनको उमेर १४ वर्ष थियो । उनले आफ्नो पढाई र घरगृहस्थी सँगै अघि बढाउन निकै मिहिनेत गर्नुप¥यो । आर्थिक अभाव टार्न तरकारी बेच्ने काम गरिन् । तरकारी बेचेरै भए पनि आफ्नो उद्देश्यमा अघि बढ्न छोडिनन् ।
उनी सम्झिन्छिन् ‘मलाई पढ्ने इच्छा धेरै थियो । पढ्ने रहरलाई त्यागिनँ । माइतिबाट नै एसएलसी पास गरेँ । घरको काम गर्दै बालबच्चाहरूलाई हुर्काउँदै प्लस टु पनि पास गरेँ । त्यसपछि मलाई केही गर्ने रहर जाग्न थाल्यो ।’
समिना हवारीत्यसपछि समिनाका श्रीमान्ले उनलाई आफूसँगै क्याम्पससम्म लैजाने र ल्याउने गर्थे । जसले गर्दा आज उनी मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सक्षम र आत्मनिर्भर महिला बन्न सफल भएकी छन् । समिनाको लागि उनको श्रीमान जीवनको पथ प्रदर्शक बने । ‘बिहान ४ बजे उठेर घरको काम सक्थ्यौं । ६ बजे दुवैजना क्याम्पस जान्थ्यौं । क्याम्पसबाट फर्किएर अरुको खेतमा काम गर्न जान्थ्यौं । र, फुर्सदको समयमा पढ्थ्यौं,’ समिनाले स्मरण गरिन् । उच्च शिक्षा लिएपछि मदरसामा पढाउन थालिन् । उनी प्रधानाध्यापक बनिन् ।
वीरगञ्जकी रुबी खातुनको विवाह २७ वर्षअघि वीरगञ्ज महानगरपालिका वडा– १४ मा भयो । विवाहपछि केही समय श्रीमानको कमाइबाट राम्रोसँग जीवन यापन भइरहेको थियो । उनका श्रीमान जमिनको कारोवार गर्थे । उनलाई कारोवारमा ५० लाख रुपैयाँ घाटा भएपछि रुबीका दुःखका दिन शुरू भए । श्रीमानले काम नै छोडेपछि घरखर्च धान्न र छोराछोरीलाई पढाउन उनलाई कठिन हुन थाल्यो । उनी कामका लागि घरबाहिर निस्किन खोजिन् । तर, कामका लागि घरबाहिर निस्केपछि इस्लाम धर्मविपरीत हुने उनको परिवारको बुझाइ थियो । जिम्मेवारीले उनलाई चुप बस्न दिएन । परिवारको जीविकोपार्जनका लागि अन्ततः घर बाहिर निस्किनै प¥यो । स्थानीय मदरसाको बाल विकासमा नियुक्त भई जीवन यापन गर्न संघर्षरत रहिन् । समुदायको नकारात्मक सोचलाई चिर्दै रुबी अघि बढ्न सफल भइन् ।
रुबी खातुन‘काम गरेर बालबच्चाको भविष्य राम्रो बनाउन चाहन्थेँ । तर, सासुससुराको सहमति पाउन गाह्रो हुन्थ्यो । मैले घरको बन्धन तोडेँ र बाहिर निस्कन सफल भएँ । श्रीमानले त काम गर्न छाडेपछि बच्चाहरू पढाउने र उनीहरूको पालन पोषण गर्ने सबै जिम्मेवारी काँधमा लिएँ । घरबाहिर गएर पढाउनेदेखि आफ्नो बच्चाहरूको हेरचाह गर्ने, घरको काम गर्ने, परिवार र समाजको तिखा कुराको सामना गर्थें । तर, संघर्ष छाडिन,’ उनले भनिन् ।
मदरसामा अध्यापन गराएवापत उनले महिनाको १ हजार ८ सय पाउँथिन् । यति तलबले बच्चाहरूलाई पढाउन गाह्रो भयो । आफ्नो घरमै एउटा सानो पसलमात्रै थापिनन्, रातिमा पापड तारेर दिउँसो बेच्न थालिन् । सिलाईकटाइको काम पनि सिकेककोले आफ्नो त्यो सीपलाई पनि अझ प्रयोग गरिन् । उनको त्यो संघर्षपूर्ण मिहिनेत अहिले पनि सकिएको छैन ।
उनले यहि परिश्रमको कमाईबाट छोरीलाई काठमाडौंमा बीबीए पढाइरहेकी छन् । छोरालाई इन्जिनियर बनाइन् । उनी भन्छिन् ‘जब एउटी महिलाले आफ्नो छोराछोरीको भविष्य राम्रो बनाउन दृढ संकल्प गर्छिन् । बाटोमा हजारौं बाधा आईपरे पनि त्योसँग लड्ने तागत राख्छिन् ।’
साब्रा खातुनश्रीमानको कमाइबाट मात्रै पारिवारको खर्च धान्न नसकेपछि साब्रा खातुनले आफू पनि काममा लाग्ने निर्णय लिइन् । वीरगञ्जको माईस्थानमा ब्युटीपार्लर खोलेर आयआर्जन गर्ने सोच बन्यो । तर, उनका श्रीमान्ले त्यो काम गर्न दिएनन् । साब्राले हिम्मत हारिनन्, आफ्नो कुरामा सहमत गराएरै छाडिन् । पहिला घरबाट बाहिर निस्कन नमान्ने मुस्लिम महिलाहरू अहिले उनकै पार्लरमा आउँछन् । उनको व्यवसायबारे चासो राख्छन् । उनी भन्छिन् ‘महिला मुस्लिम होस् वा हिन्दू गाह्रो सबैलाई छ । केही गर्छु भन्यो भने सजिलै कसैले अनुमति दिँदैन यो पक्का कुरा हो । तर, आफ्नो मर्यादामा रहेर आफ्नो हातमा भएको सीप र परिश्रम गर्नु राम्रो कुरा हो । आफ्नो सीपको प्रयोग गरेर खानमा म गर्व गर्छु ।’
सबाना खातुनवीरगञ्ज –१४ गण्डक बहुअरीकी सबाना खातुनको संघर्ष रुवी र साब्राको जस्तै छ । सबानाको संघर्ष विद्यालय पढ्दादेखि नै शुरू भइसकेको थियो । उनले मदरसा तौहिदुल इस्लाम सल्फियामा १० कक्षासम्म पढिन् । तर, मदरसामा एसईई दिने व्यवस्था नभएपछि २०७२ सालमा बारा जिल्लाको धररी गएर परीक्षा दिनुप¥यो । उनका धेरै साथीहरूले एसईईको परीक्षा नै दिएनन् । उनलाई पढ्नु थियो । पढ्ने खर्च जुटाउनको लागि काम गर्न थालिन् । उनको त्यो कदमलाई उनको आफन्तहरू, चिनेजानेकाहरूले प्रशंसा गर्नुको साटो कुरा काट्ने, खुट्टा तान्ने, घरमा भड्काउने काम गर्थे ।
सबाना भन्छिन् ‘समाजले त कुरा काट्ने, खुट्टा तान्ने काम मात्र गर्छ । समाजको पछि लागेर कहाँ हुन्छ । अप्ठ्यारो परेको बेला कसैसँग ५ रुपैयाँ माग्दा कसैले दिँदैन । तर आवश्यक नभएको सल्लाह र सुझाव दिन भने लाईन लागेर बस्छन् ।’ परिवारको साथ पाएर उनी आफ्नो समुदायका लागि सुन्दर उदाहरण बनेकी छिन् । समुदाय पनि बिस्तारै परिर्वत भइरहेको छ । अहिले त्यही गाउँका छोरीहरूले बाहिर गएर पढ्न पाइरहेका छन्, जागिर खाइरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२ १५:४६