प्रेस स्वतन्त्रताको बलियो जग र पत्रकारिता तथा पत्रकारहरुको हक अधिकार सुनिश्चितताका लागि हरेक वर्ष मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । काम गर्ने क्रममा हिंसामा परेका र ज्यान गुमाएका पत्रकारहरूको विगत झैं वर्तमान र भविष्य नहोस् भन्ने पनि दिवसको अर्को संदेश हो ।
सन् १९९१ मा युनेस्कोमा भएको साधारण सम्मेलनको २६ औंं सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो । सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिविम्बका रूपमा पनि यो दिवस मनाउने गरेको पाइन्छ ।
प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न त्यहाँका सरकार तथा समाजलाई थप सचेतना भर्न दवाव दिने दिनका रुपमा पनि यो दिवसले निरन्तरता पाउँदै आएको छ । विश्वका अन्य मूलुक झैं नेपाल पनि संविधानतः पूर्ण प्रेस स्वतन्त्रता भएको मूलूक हो । तथापि यही देशका पत्रकारले समाचार संकलनका क्रममा जीउँदै जलेर मर्नुपर्ने पीडादायी क्षण पनि नेपाली पत्रकारहरुको आलो पाटो हो । लोकतन्त्रको सवल अभ्यासको प्रतीकका रुपमा पनि प्रेस स्वतन्त्रतालाई मानिन्छ । नेपालको पछिल्ला घटनाक्रमले लज्जित बनाएको छ । डिजिटल घेराबन्दीमा पत्रकारिता’ भन्ने नाराका साथ डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनीयताका विषयले पनि अब बढि स्थान ओगटेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ ले नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, कार्यकर्ता, साइबरसुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सान्दर्भिक पक्षलाई अन्वेषण गर्न र प्रेस स्वतन्त्रता र गोपनीयतामा बढेको निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न ठोस पहले भने आवश्यक छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा व्यवसायिक पत्रकारिताका पक्षधर र पत्रकारका पर्सेली नेता प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाका बारेमा के भन्छन् ?
अशोक तिवारी (केन्द्रिय सदस्य)
नेपाल पत्रकार महासंघनेपालको पत्रकारीताको अवस्था दयनीय छ । स्वरोजगार मिडिया हाउसहरुले धेरै जटिल अवस्थामा मिडिया सञ्चालन गरिरहेका छन् । राम्रा पत्रकारहरु विस्थापित भइरहेका छन् । विश्वभर हप्तामा १ जना पत्रकारको हत्या भइरहेको छ । राज्यबाट, राजनीतिक दलबाट पनि पत्रकारहरु पिसिएका छन् । संविधानले पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार लेख्न अधिकार दिए पनि स्वतन्त्र रुपमा समाचार लेख्न पाएका छैनौं । पत्रकार सुरेश रजकको एक महिना अघि निर्भमतापूर्वक हत्या भएको छ । तर पनि सरकारले न्यायिक छानबिन गर्न समिति गठन गर्न तयार भएको छैन । कुनै पनि जिल्लाका पत्रकारहरु प्रशासनको दुव्र्यवहार र गैर पत्रकारको कारण प्रताडित छन् । नेपाल पत्रकार महासंघले पहलो पटक महिलाको नेतृत्व पाएको छ । पत्रकारिता क्षेत्रको सुधारकोलागि देशभरी नै शुद्धिकरण अभियान सुरु गरेको छ । राजनीतिक दलको स्वार्थमा गैर पत्रकारहरु नेपाल पत्रकार महासंघको सदस्य बन्न पुगेका छन् । नेपाल पत्रकार महासंघले पत्रकारहरुको शुद्धिकरण गर्नुपर्छ । व्यवसायिक, नैतिकवान व्यक्ति मात्र यो पेशामा रहनु पर्छ ।
के.सी लामिछाने (केन्द्रिय संयोजक)
नेपाल पत्रकार महासंघ (लेखा समिति) संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९३ मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने घोषणा गरेको छ । त्यो समयदेखि पत्रकारहरुले हरेक वर्ष मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएका छन् । प्रेस स्वतन्त्रता दिवसले बहुलवाद अर्थात प्रजातान्त्रिक वातावरणको सिफारिस गर्दछ । यसले जनताको निम्ति चाहिने सूचनालाई प्रवाह गर्न बल थप्छ । सूचना प्रवाह गर्न जिम्मेवार तथा जवाफदेहीताको स्थान यसले ओगट्छ । राज्यको चौथो अंगको रुपमा पनि प्रेस जगतलाई मानिन्छ । नेपालको सन्दर्भमा राज्यले बनाउने कानूनहरुमा पत्रकार महासंघको धेरै असहमति छ । कानूनहरु सच्याउन माग भइरहेको पनि छ । प्रेस स्वतन्त्रतालाई यो वाक प्रकरणले संकुचन गर्ने प्रयास गरिरहेको वर्तमान छ । प्रदेश सरकार, स्थानीय सरकारले बनाउदै गरेको कानूनहरु पत्रकार मैंत्री छैनन् । यसमा पनि आवाज उठाइदै आएको छ । यस्ता दिवसले प्रेस र पत्रकारहरुको हक अधिकारलाई थप सूनिश्चित गर्ने कुरामा बल थप्नु पर्छ ।
श्याम बञ्जरा (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश कमिटिविश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहदाँ राज्यले प्रेस माथि हर ढंगबाट दमन गर्ने, स्वतन्त्र प्रेसको कलम अवरुद्ध बनाउनु षडयन्त्र अझै पनि गर्दैछ । योे पराकाष्टामा सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रता दिवस मनाइरहेका छौं । राज्यलाई जवाफदेही र जिम्मेवार बनाउन देश भरीका पत्रकारहरु एकतापूर्वक लेख्न र बाँच्न पाउँ भन्ने नारालाई अझ व्यवहारमा लागु गर्न÷गराउन एकजुट हुनुपर्छ । राज्य पुग्न नसकिरहेको ठाउँमा राज्यलाई बाटो देखाउने र सर्वसाधरण जनताको चाहना, विचार र धारणालाई उजागर गर्न प्रेस र पत्रकारले कुनै कसर बाँकी राखेको छैन । राज्यले कहिले पनि आफ्ना नराम्रा कुराहरु जनताले थाहा पाउन भन्ने चाहदैन । राज्यले गरेका बदमासी, बदनियत, कुशासनको दुश्चक्रका कारक तत्व देखाउनका निम्ती प्रेस र पत्रकारले स्वतन्त्रता पूर्वक पत्रकारिता गर्न अवरोधलाई पन्छाएर हिड्नु परेको छ । आम सञ्चारकर्मीहरु एकताबद्ध भएर पेसागत मर्यादा, मूल्य निष्ठाको पत्रकारिताको जगलाई अझ मजबुतिका साथ उठाउन पत्रकार आचार संहितालाई पनि पालना गर्दै आफू पनि बाँच्ने र सिङ्गो समाजलाई सहि बाटो देखाउने धेरै ठूला चूनौति मधेशमा पनि छन् । राज्यको तर्फबाट सिर्जना भएका चूनौति र राज्यलाई ठगिखाने तत्वहरुका गलत कुराहरु उजागर गर्दा पत्रकारहरुलाई धाक, धम्की दिने तर्साउने अनेक क्रियाकलाप हुन्छन् । तर पत्रकारले आफ्नो दायित्वबाट पछि हट्नु हुन्न । ३३ औं प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा पत्रकारिताको भविष्य उज्जवल छ भन्ने सन्देश दिन सक्नु पर्छ ।
दिपेन्द्र चौहान (सल्लाहकार)
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश विश्व प्रेस स्वतन्त्रताको सुचकांक हेर्दा छिमेकी मुलूकहरुकोभन्दा नेपाल राम्रो स्तिथिमा नै छ । समग्रमा प्रेस स्वतन्त्रतामा सामाजिक सञ्जाललाई नियमन गर्ने विषयमा, विद्युतीय ऐनहरु ल्याएर कडाई गर्ने सम्बन्धमा केही प्रेस स्वतन्त्रता माथि हस्तक्षेप भइरहेको छ । छिमेकी मुलूक भारतलाई लोकतन्त्रको ठूलो जननी भनिन्छ । तर त्यहाँ दैनिक रुपमा प्रेस स्वतन्त्रताको हनन्का घट्नाहरु भइरहेका छन् । त्यसको तुलनामा नेपालमा प्रेस स्वतन्त्रताको हनन् केही कम चाही छ । मधेश प्रदेशमा मिडिया काउन्सिल, आम सञ्चार प्रतिष्ठान गठनमा मधेश प्रदेश अरु प्रदेशभन्दा अगाडी पनि छ । प्रदेश सरकारबाट भने प्रेस स्वतन्त्रता र पत्रकारिताको निम्ति कुनै ठोस काम भने हुन सकेको छैन । नेपाल पत्रकार महासंघले आफ्नो तर्फबाट पत्रकार र पत्रकारिता पेशाको हितकोलागि थप दवाव दिनु पर्छ ।
ओम प्रकाश खनाल (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, पर्साविश्वका धेरै देशहरुले प्रेस स्वतन्त्रतालाई सबल र प्रभावकारी बनाउन सूचनाको हक सम्बन्धी कानून ल्याएको छ । नेपालले पनि त्यो कानुन ल्याएर कार्यान्वयनमा छ । नेपालको संविधान २०७२ सालमा जारी भएको पूर्ण प्रेस स्वतन्त्रतालाई आत्मसाथ गरेको अवस्था छ । नेपालको विधि, प्रक्रिया, पद्दति कानुनी राज्य, कानुनी शासनलाई व्यवस्थित गर्न जसरी प्रेसको महत्वपूर्ण भूमिका छ । लोकतन्त्र र प्रेस एक अर्कामा परिपुरक मानिन्छ । जहाँ प्रेस सक्षम छ सबल छ । लोकतन्त्र र विधिको शासन बलियो हुन्छ । हामीले लोकतन्त्रलाई सबल बनाउन प्रेस स्वतन्त्रता लाई बलियो बनाउन आवश्यक छ । नेपाल पत्रकार महासंघको मुख्य एजेण्डा प्रेस स्वतन्त्रताको उपयोग गर्ने पत्रकारले पनि समाजप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारीलाई ठिक ढंगले पालना गर्नुपर्छ भन्ने हो ।
तुलसी भण्डारी (मधेश प्रमुख)
राजधानी दैनिक
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउदैं गर्दा अहिले नेपालको पत्रकारिता र पत्रकारको अवस्थामा नैतिक र व्यवसायिक संकट छ । यो सुधार गर्नुको विकल्प छैन । प्रविधिको आगमनसँगै हरेक व्यक्ति पत्रकारले गर्ने कर्म गरेझैं गर्दैछन् । तर ती सामग्री सम्पादन हुँदैनन् । पत्रकारले गर्ने संचार सम्पादन गरिएको हुन्छ । त्यसैले प्रेस र पत्रकारप्रति समाजको विश्वास बढी हुन्छ । यो विश्वासलाई अक्षुण राख्न नेपाली पत्रकार अझ सकृय हुनु पर्छ । प्रविधिको आगमन, आर्थिक मन्दी, कानूनी दाउपेचको चौतर्फी आक्रमणले व्यवसायी पत्रकारितालाई लल्कारिरहेको छ । पार्टी ‘पर्चाकारिता’ले पनि पत्रकारहरुले व्यवसायिकतामा आँच पुगेको छ । संविधानले पूर्ण प्रेस स्वतन्त्रताः भने पनि कार्यक्षेत्रमा काम गर्दा आगोमा जलेर मरिदिनु पर्ने नेपाली पत्रकारको कहाली लाग्दो घटनाले गणतान्त्रिक लोकतन्त्र भनिएको नेपाललाई गिज्याइरहेको छ । यस्ता विषयलाई पत्रकारका संगठन र नेपाली पत्रकारले निस्तेज पार्न अग्रसरता देखाउनु पर्छ । स्वतन्त्रताको बाहानामा मडारिएको छाडातन्त्रले जिते प्रेस स्वतन्त्रताको मर्ममा प्रहार हुन्छ । पेशामा गैर पेशेवरको सिकन्जा हावी छ । प्रविधिको आगमनसँगै आएको संचार र मूलधारको पत्रकारिता भित्रको शुद्धिकरण पनि आजको आवश्यकता हो । गुणात्मक पत्रकारिताले जित्नु पर्छ, तब मात्र सन् १९९३ मा घोषित विश्व प्रेस स्वतन्त्रता दिवसको पनि सार्थकता हुन सक्छ ।
निरञ्जन मिश्रा (अध्यक्ष)
प्रेस चौतारी, पर्सा
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने तयारीमा छौं । पत्रकारितामा चरम लापर्वाही छ । आर्थिक अवस्था जर्जर भएकोले पत्रकारहरुलाई पनि दुःख छ । मिडिया हाउसहरु पनि जर्जर अवस्थामा छन् । पर्सा जिल्लामा नक्कली पत्रकारको कारणले पत्रकारिता पेशामा लागेका व्यक्तिहरुको अस्तित्व र पेशा नै धरापमा परेको छ । तराईको सीमावर्ती क्षेत्र भएकोले पत्रकारको नाममा गैर पत्रकारहरु हावी छन् । सबै पत्रकारका संगठनहरु र मिडियाहरुले यस्ता किसिमका व्यक्तिहरुलाई संगठन र मिडियामा राख्नु हुदैन ।
शिवनाथ प्रसाद यादव (अध्यक्ष)
प्रेस सेन्टर,पर्सा
लोकतन्त्रमा पे्रस स्वतन्त्रता महत्वपूर्ण पाटो हो । नेपालको सन्दर्भमा कुरा गर्दा विश्वमा नै उदाहरणको रुपमा नेपाललाई दिने गरिन्छ । नेपालमा प्रेस स्वतन्त्रताको हक छ । यसको साथ साथै केही कुराहरु हामीले बुझ्न जरुरी हुन्छ । पत्रकार, पत्रकारिता, मानव अधिकार र मानव अधिकारवादीहरु प्रयोग गर्ने समयमा मात्र खोजिन्छन् । तर ठाउँमा वा सत्तामा जो कोही हुँदा विपक्षी जस्तो व्यवहार हुने गरेको छ । पत्रकार माथि अंकुश लगाउने काम बेला बखतमा भइरहन्छ । अहिले तुलनात्मक रुपमा डिजिटल माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिका सबैमा पहुँच सबैको छ । हामीले निःशुल्क काम गरिरहेका छौं । सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउनको निम्ति कानुन ल्याउने प्रयास गरिरहेको छ । मिथ्या सूचना र फेक समाचारको विषयले दुबै पक्षको स्वतन्त्रता हनन् पु¥याउने देखिन्छ । प्रेस स्वतन्त्रता बढी भएको हो की जस्तो देखिन्छ । समग्रमा प्रेस स्वतन्त्रताको अवस्था राम्रो देखिन्छ । तर यसलाई व्यवस्थित, मर्यार्दित र मिथ्या सूचनाबाट बचाउन ढिलो गरिनु हुन्न ।
शम्भु कुमार सुमन (अध्यक्ष)
समाजवादी प्रेस संगठन, पर्साप्रेस स्वतन्त्रताको कुरा गर्दा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु बढ्दै गएका छन् । जुन देशको लोकतन्त्र बलियो हुन्छ । त्यो देशको मिडिया पनि बलियो हुन्छ । अहिले विभिन्न बहानामा प्रेस माथिको आक्रमण रोकिएको छैन । जुनसुकै आन्दोलनमा पत्रकारहरु नै शिकार हुने गरेका छन् । पत्रकार माथि नै आक्रमणका घट्नाहरु हुने गरेको छ । यस विषयमा राज्यसत्ता पनि गम्भिर हुनु पर्छ । पत्रकारका आफ्ना आचरणले पनि केही घटना भएका छन् । पत्रकारहरुले पनि आफ्नो मर्यादा र नैतिकतालाई ख्याल गरेर संचार गरिनु पर्छ । मधेश प्रदेशमा महिला पत्रकारको संख्या कम छ । पत्रकार महिलाहरुले लेखेको समाचार विवादमा परेका छैनन् । प्रेस स्वतन्त्रताको कुरा गर्दा आधुनिक अनलाईन पत्रकारिताले गर्दा पत्रकारितामाथिको विश्वास घट्दै गइरहेको छ । पत्रकारले आफ्नो विश्वासनियता जोगाउन तथ्य र प्रमाणको आधारमा समाचार सम्प्रेशन गर्नु पर्छ ।
माधुरी महतो (पर्सा सम्वादाता)
बिबिसी नेपाली सेवाप्रेस स्वतन्त्रता दिवसको महशुस अझै पूर्णरुपमा हुन सकेको छैन । अहिले पत्रकारिताको ऐन, कानून, आचारसंहिता नबुझिकन च्याउँ उम्रेझैं पत्रकारका संस्था र पत्रकार उमे्रका छन् । पत्रकारिताको ऐन, कानुन, आचारसंहिताको पालना गर्दै आफ्नो कर्तव्य पालना सबैबाट हुन सकेको छैन । पत्रकारलाई आर्थिक संकट पनि छ । जबसम्म मानिस सबल हुदैन तबसम्म ऐन नियम निर्माणले मात्र हुन्न । अवस्था र व्यवस्था परिवर्तन गर्न ऐन, नियमसँगै कार्यान्वयन पक्ष पनि बलियो हुनु पर्छ । पत्रकार महिलाको सवालमा सहभागिताको कुरा न्यून छ । महिला नेतृत्वको सवालमा आवाज उठाउने पत्रकार महिलाको सहभागिता र स्वतन्त्रता न्यून छ । प्रेस स्वतन्त्रता माथि राज्यले कुण्ठित गर्ने प्रयास हुँदा पत्रकार र पत्रकारका संगठनहरुको समन्वय बढि हुनु पर्छ ।
विजय कुशवाहा (केन्द्रिय पार्षद)
नेपाल पत्रकार महासंघ
विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहदाँ हामी पूर्णरुपमा अहिले स्वतन्त्र नभएको अनुभूति गरिरहेको छौं । पत्रकारलाई राज्यबाट पनि कुनै पनि रुपमा सुरक्षित भएको महशुस गराउन सकेको छैन । पेशागत कर्तव्य निर्वाह गर्दा गर्दै पत्रकारले आगोमा जलेर मर्नु परेको छ । पत्रकारिता पेशाको लागि राज्यले पनि ध्यान दिन सकेको छैन । धेरै सञ्चार गृहहरुले कर्मचारीहरुलाई तलब खुवाउन नसकेर बन्द हुने अवस्थामा छन् । सञ्चारकर्मीहरुले स्वतन्त्रतापूर्वक अभिव्यक्ति दिन जनसमक्ष संचार गर्न सकियोस् । संचार गृहहरुलाई टिकाइ राख्न सरकारको ध्यान पनि हुनु पर्छ ।
सुनिता बराल (अध्यक्ष)
सञ्चारिका समूह, मधेश प्रदेश प्रेस स्वतन्त्रता संविधानले नै किटान गरेको छ । कहिलेकाही राज्यको तर्फबाट प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने, नियन्त्रण गर्न खोज्ने जस्ता गतिविधीहरु राज्यबाट पटक–पटक हुने गरेका छन् । संविधानले दिएका अधिकारलाई कार्यान्वयन गर्ने तर्फ सरकार नै बलियो हुनुपर्छ । प्रेससंग आबद्ध नेपाल पत्रकार महासंघ, सञ्चारिका समूह र अन्य पेसागत संगठनहरुले आवाज उठाइरहका छन् । तर राज्यले नै अधिकार कुन्ठित हुनेगरी विभिन्न ढंगले प्रस्तुत भइरहेको देखिन्छ । पूर्ण प्रेस स्वतन्त्रताको अधिकारलाई हामी पत्रकारले कत्तिको उपयोग गरिरहेका छौं । पत्रकारले काम गर्ने सन्दर्भमा हामी कोही प्रति पनि पूर्वाग्राही नभईकन समाजको आँखा बनेर दवाबमा नपरिकन लेख्नु पर्ने हुन्छ । संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारलाई पत्रकारले दुरुपयोग गर्न पनि हुन्न । हामी स्वतन्त्र छौं भनेर कोही विरुद्ध लेख्ने होइन । तर समाजको आँखा बनेर समाज र राज्यलाई सही मार्ग निर्देश गर्ने, आवाज बिहीनहरुको आवाज उठाउने, न्याय दिने सन्दर्भमा कलम चल्नुपर्छ ।
बिना राउत (उपाध्यक्ष)
नेपाल पत्रकार महासंघ, रौतहटवास्तावमा राज्यबाट पनि कही न कही प्रेस स्वतन्त्रतामाथि दमन भएको नै छ । समाचार बनाएको आधारमा पनि पत्रकारमाथि हमला भएको नै छ । पत्रकारहरुको अधिकारमाथि भएको दमनहरुलाई पत्रकारका संगठनहरुले आवाज उठाउनु पर्छ । पत्रकारहरुले पनि पत्रकारको काम, कर्तव्य, अधिकारको बारेमा जानकारी नहुदाँ वास्ताविक समाचार लेख्न नसक्दा पनि आक्रमणको शिकार बन्न पुगेको जस्तो लाग्छ । तालिम नलिएका गैर पत्रकारहरुको कारणले गर्दा पनि पत्रकारहरुलाई जोखिम पूर्ण अवस्थाको सिर्जना गराएको छ । यस्तो अवस्थामा भने पत्रकार महिलाहरुलाई काम गर्न झनै चुनौतिको विषय बनेको छ ।
लक्ष्मी खरेल (उपाध्यक्ष)
प्रेस चौतारी नेपाल, पर्सापत्रकारिता जगतमा जुन खालको विकृति विसंगति देखिदैछ । पीत पत्रकारिताले जरो गाडेको देखिन्छ । समयमा नै ध्यान दिए भने भोलीको दिनमा निकै डरलाग्दो देख्दै गएको अवस्था छ । प्रविधिसँगै राम्रा समाचार भन्दा पनि लाइक, सेयर र भ्युज बढाउने तर्फ आकर्षित भएको र गलत शैली भित्रिएको छ । गलत शैलीले पत्रकारिता जगतलाई ए.बि.सीको सिद्धान्तमा लगेको देखिदैन । तसर्थ पत्रकार स्वयम सच्चिन जरुरी छ । सतय, तथ्य, निश्पक्ष हुन जरुरी छ । व्यक्तिगत स्वार्थ, दलगत स्वार्थ र क्षणभरको लाभका निमित्त पत्रकारिता जगतलाई बदनाम गराउने भइरहेको कामलाई निमिट्यान्न पर्न जरुरी छ । पत्रकारको सुरक्षाको ग्यारेन्टी सरकारले लिन जरुरी छ । पछिल्लो समयमा पत्रकार आक्रमण हुनु पर्ने र पत्रकार जल्नु पर्ने अवस्था कार्य क्षेत्रमा समस्याहरु झेलिरहदाँ पत्रकारिता गरिरहनु भएका पत्रकारहरुको संरक्षण, सम्बर्धन गर्न तर्फ सरकार र सम्बन्धित कार्यरत संस्था लाग्नु पर्ने देखिन्छ । सरकारले पनि प्रेस स्वतन्त्रता हनन् हुने खालको गतिविधीहरु रोक्नु पर्छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ १५:२५