पर्सा ठोरीकी फूलमाया दर्जीले वन्यजन्तुले बढी खाने खालका बालीनालीहरू लगाउन छोडेकी छिन् । उनले धान, मकै गहुँको सट्टा वन्यजन्तुहरूले कम खाने अदुवा, बेसार, कागतीजस्ता खेतीहरू लगाउने उपाय अपनाएकी छन् । यतिमात्र होइन, बालीको सुरक्षाको लागि स्थानीयले नेट जाली, तारजाली र विद्युतीयजाली पनि लगाएका छन् । त्यहाँको निर्मल उपभोक्ता समिति र पालिकाले ठाउँठाउँमा तारजाली लगाएर वन्यजन्तुबाट बालीनाली जोगाउने प्रयास गरेका छन् । पर्साको ठोरी गाउँपालिका चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको छ । तर, निकुञ्ज क्षेत्रबाट निस्किएका वन्यजस्तु गाउँ पसेर बाली मास्ने र आक्रमण गर्ने क्रम भने रोकिएको छैन ।
निकुञ्जबाट निस्किएका जनावर र मानव समुदायबीच द्वन्द्वका घटना बारम्बार दोहोरिने गरेका छन् । निकुञ्ज क्षेत्रबाट निस्किएका जंगली जनावरले स्थानीयले लगाएको अन्नबाली खाइदिनेमात्र होइन, आक्रमणबाट स्थानीयको ज्यानसमेत जाने गरेको छ । ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी राष्ट्रिय निकुञ्जको करिडोरभित्र रहेर पनि मानवीय क्षतिहरू भइरहेको बताउँछिन् । ‘आधाभार क्षेत्र र हुलाकी मार्गमा यातायातको साधनहरूको कोलाहलले गर्दा वन्यजन्तुहरू शान्त वातावरण क्षेत्रमा बस्न र खानको लागि गाउँ पस्ने गरेका छन् । वन्यजन्तु आफ्नो बसोबास स्थानमा पर्याप्त खाना उपलब्ध नभएपछि बस्तीमा पस्ने गर्छन् । वन्यजन्तुले किसानले लगाएको खेतीबाली नष्ट गर्ने गरेका छन् । कतिपय अवस्थामा आक्रमणका घटना पनि भएका छन्,’ उपाध्यक्ष रेग्मीले भनिन् ।
वन क्षेत्र मासिएपछि वन्यजन्तु पनि संकटमा परेका छन् । वनक्षेत्र आसपास बसोबास गर्ने पर्साको ग्रामीण क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्वका घटना वृद्धि भएका छन् । पर्सा विरुवागुठीका स्थानीय रामप्रसाद साह वन चोरी निकासी र अतिक्रमणका कारण वनमात्र होइन वन्यजन्तु पनि संकटमा परेको बताउँछन् । ‘यसबाट वन्यजन्तु र मावनबीच द्वन्द्व बढेको छ । यो समस्याको नीतिगत सम्बोधन नभए पर्सामात्र होइन, मधेशले नै ठूलो संकट झेल्नुपर्ने हुन सक्छ,’ उनले भने ।
वन्यजन्तुहरू बसोबास गर्ने सिमसार क्षेत्र संरक्षण गर्नुपर्ने र जनावरहरू पौडी खेल्ने, खाने, चरण गर्ने स्थानहरूमा कोरिडोर बनाएर राखेमा वन्यजन्तुहरू बस्तीमा नआउने उपाध्यक्ष रेग्मीले बताइन् । ‘हात्तीको आतंक धेरै छ । साना जनावरहरूमा बदेल, घोडगधाले बालीनाली नष्ट गरेको छ । घोडगधा दिउँसो नै हिड्नाले आक्रमण गर्छ भन्ने डर पनि हुन्छ,’ उनले भनिन्, ‘वन्यजन्तुले खाना प्राप्त गर्न नसक्नाले द्वन्द्व उत्पन्न भएको छ । किसानले उत्पादन गरेको बाली भित्र्याउन पाएका छैनन् । वन संरक्षणका निकायहरूले वन्यजन्तुहरूलाई संरक्षणको पाटोमा राख्नुपर्छ ।’
बढ्दो पर्यावरणीय प्रभावका कारण वन क्षेत्रमा पानीका स्रोतहरू पनि सुुक्दै गएपछि बाघ, चितुवा, हरिणजस्ता प्रजातिहरू चुरे क्षेत्रबाट विस्थापित भएको र ती जनावरहरू मानव वस्तीमा प्रवेश गर्ने गरेको वन संरक्षण र व्यवस्थापनको क्षेत्रका काम गरिहेका जानकारहरू बताउँछन् । ‘वन मासिँदा वन्यजस्तुको आवास संकटमा परेको छ । वनजंगलमा लागेको डढेलो वन र वन्यजन्तु मासिने कारण बनेको छ । यसबाट प्राकृतिक श्रोत क्षयीकरण भइरहेको छ । मानव र वन्यजन्तु द्वन्द्व पनि बढाएको छ,’ डिभिजन वन कार्यालय, डिभिजनल अधिकृत मञ्जुर आलम भन्छन्, ‘जलवायु परिवर्तको कारणले गर्दा सुक्खा क्षेत्र बढेको छ । वनमा डढेलो लाग्दा वन्यजन्तुलाई असर परी वन्यजन्तु बाहिर निस्किएका छन् । पानीको संकट हुँदा पानीको खोजीमा जनावरहरू बाहिर निस्किरहेका हुन्छन् । पानीको मुहान सुक्ने र खुला चरिचरणले मानिस र वन्यजन्तुबीच द्वन्द्व भएको छ ।’
पर्सा सबैभन्दा कम वन क्षेत्रफल भएको जिल्ला हो । राष्ट्रिय निकुञ्जभन्दा बाहिर रहेको १० हजार ५ सय हेक्टर वनक्षेत्र डिभिजन वन कार्यालय, पर्साको मातहतमा पर्छ । वन्यजन्तुको व्यवस्थापनको काम राष्ट्रिय निकुञ्ज विभागअन्तर्गतको राष्ट्रिय निकुञ्जले गर्दै आएको छ । यो वन्यजन्तुको संरक्षण र व्यवस्थापनको लागि स्थापना गरिएको हो । वन्यजन्तुको संरक्षण, व्यवस्थापनका सम्पूर्ण काम र गतिविधिहरू त्यो निकायबाट हुँदै आएको छ ।
‘वनक्षेत्रभन्दा बाहिर मानव बस्ती छ । मानवले आफ्नो जग्गाको साथै वनको जग्गा पनि अतिक्रमण गरी बाली लगाइरहेको हुन्छ । वन्यजन्तुको व्यवस्थापन गर्ने निकायले वन्यजन्तु संरक्षण गरी जनावरको संख्या बढाइरहेको छ । गाउँ समाजले वन्यजन्तुको बासस्थानतिर अतिक्रमण गरिरहेको कारणले द्वन्द्व बढेको छ,’ आलमको अनुभव छ । वन्यजन्तु व्यवस्थापन गर्दा संख्या बढे वा घनत्व बढे कमी गर्ने उपाय नेपालमा नभएकाले पनि द्वन्द्वका घटना बढिरहेको उनले बताए । ‘जनावरको संख्या वृद्धि हुदाँ निकुञ्जको क्षेत्रफलले धान्न सक्छ वा सक्दैैन भन्ने हिसाबको आँकलन हामीसँग छैन । बढी भएको संख्यालाई त्यही ठाउँमा व्यवस्थापन गर्न खोज्दा समस्या आएको हो ।’
वन क्षेत्रबाट निस्किएका निलगाई, बदेल, बाघ, हात्ती र गैंडाले क्षति गरिरहको स्थानीय बताउँछन् । वनमा खेती गर्ने र चोरी गर्ने गतिविधिहरूलाई नियन्त्रण गर्नुपर्ने सुझाव आलमको छ । ‘वन्यजन्तु व्यवस्थापनको लागि पानीका स्रोत व्यस्थापन गर्ने, डढेलो लाग्न नदिने, वन्यजन्तु बढी भएर बाहिर आउने भएमा त्यसको व्यवस्थापनलगायतका सबै काम संरक्षणका निकायले गर्नु पर्छ । वन्यजन्तुबारेमा जनचेतना फैलाउने र जानकारी दिने काम गर्नु पर्छ । गाउँतिर आएको वन्यजन्तुलाई स्थानीय समुदाय, वन कार्यालय र निकुञ्जको सहयोगमा उद्धार गर्नु पर्छ । व्यस्थापनका लागि वैज्ञानिक र सापेक्ष पद्धति अपनाउनु पर्दछ,’ उनले भने ।
मानव–वन्यजन्तु द्वन्द्व पूर्ण रूपमा हटाउन अलि कठिन भएको वन सुरक्षाकर्मीहरू बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत रेन्जर अजित यादवले मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्दै लैजानुपर्ने तर्क गरे । ‘निकुञ्जको आसपासमा हुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि निकुञ्ज कार्यालयले निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तुको बासस्थान नियमित रूपमा व्यवस्थापन गर्नु पर्दछ । समुदायस्तरमा वन्यजन्तुको आनीबानीसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्नु पर्छ । वन्यजन्तु मार्गको संरक्षण तथा व्यवस्थापन गर्नु पर्छ । बस्तीभित्र वन्यजन्तुको प्रवेश रोक्न विभिन्न किसिमको संरचना निर्माण गर्नु पर्छ,’ उनले भने, ‘वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण गर्नु पर्छ । सामुदायमा आधारित चोरी शिकार नियन्त्रण इकाई गठन तथा परिचालन गर्नु पर्छ । वैकल्पिक जीविकोपार्जनको विकास तथा उचित व्यवस्थापन गर्नु पर्छ । पशुधन तथा कृषिबाली बिमाको व्यवस्था हुनु पर्छ । स्थानीय जनसमुदायलाई वन्यजन्तुबाट बच्ने उपायसम्बन्धी तालिम दिएर वन्यजन्तुबाट भएको क्षतिको क्षतिपूर्ति तथा राहतसम्बन्धी व्यवस्था र त्यसको सरल उपलब्धताको व्यवस्था गर्नु पर्छ ।’
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ १६:५४