पर्साको पटेर्वासुगौली–५, बेलवा टोलकी ५२ वर्षीया शिवरतिले गोहर (गोबरको गुइँठा) बनाउन थालेको आजदेखि होइन, विवाह हुनुअघिदेखि नै खाना पकाउँदा दाउराको सट्टा बाल्नको लागि प्रयोग हुने गोहरा बनाउँदै आएको सम्झना छ उनलाई । आफ्नै घरमा पालेको भैसीको गोबरबाट बर्खामा बाल्नको लागि गोहरा बनाउने गरेको उनले बताइन् । वनबाट दाउरा ल्याउन सहज नभएपछि पर्साका महिलाहरुले विकल्पको रुपमा गोहरा बनाउन थालेका हुन् ।
तर, जंगलबाट दाउरा ल्याउन रोकिएको भने छ्रैन । ‘जंगलबाट ल्याइएको दाउरा किन्न महँगो पनि पर्छ । दाउरा बिक्री हुन्छ । तर, गोहरा बिक्री हुँदैन,’ दिनको १÷२ घण्टा गोहरा बनाए पनि यसबाट आय आर्जन गर्न नपाएकोमा उनलाई गुनासो छ ।
स्थानीय ६० वर्षीयाकी जियनीदेवी यादवले पनि गोहरा बनाउन छोडेकी छैनन् । उनले आफ्ना नातिनी र बुहारीलाई पनि यो सीप सिकाएकी छन् । तर, आफ्नै परिवारका लागि गरिएको यो श्रमको मूल्य भए नभएकोमा उनलाई कुनै चासो छैन ।

अमना खातुन गाउँघरमा दैनिकी ज्यालादारीको काम गर्छिन् । तर, घरमा खाना बनाउन उनले पनि गोहरा बनाउँछिन् । पटेर्वासुगौलीका मात्र नभएर मधेश प्रदेशको ग्रामीण क्षेत्रका अधिकांश गृहणी महिलाहरुको दिनचर्या हो यो । ग्रामीण क्षेत्रका महिला दिनभरिजसो काममा व्यस्त भए पनि उनीहरुको श्रमको मूल्यको भने पहिचान हुन सकेको छैन । न राज्यको कानूनले नै गृहणी महिलाको कामको पहिचान गरेको छ, न त परिवारका सदस्यले कामको सम्मान दिएका छन् ।
पर्साको ग्रामीण क्षेत्रका महिलामात्र होइनन्, शहरी क्षेत्रका गृहणी महिलाको अवस्था पनि फरक छैन । वीरगञ्ज महानगरपालिका वडा नं. ८ की सरोजदेवी रामलाई बिहान उठेदेखि राति अबेरसम्म भ्याइनभ्याइ छ । उनी कुनै सरकारी वा निजी कार्यालयको काममा नभएर आफ्नै घरको काममा व्यस्त हुन्छिन् । तर, कार्यालयजस्तो उनको कामको समय तालिका छैन, एकछिन फुर्सद पनि हुँदैन । तर, रातदिन नभनी घरको काममा खटिने उनलाई सामान्य कस्मेटिक समान किन्न पैसा चाहिए परिवारका अन्य कमाउने सदस्यको मुख ताक्नुपर्ने हुन्छ ।
‘सानै उमेरमा विवाह भयो । पढेलेखेको भए म पनि केही काम गर्छु भनेर आवाज उठाउन सकिन्थ्यो । न त बाहिर गएर काम गर्ने सीप नै छ, नत पढाई,’ सरोजदेवीले गुनासो पोखिन् । घरको काम गर्ने गृहणीले बाहिर काम गर्न जाने पुरुषको दुव्र्यवहारसमेत भोग्नुपरेको उनको अनुभव छ ।
वीरगञ्ज १० की अनिशा श्रेष्ठ गृहणीले हरेक दिन बिहानदेखि बेलुकासम्म घरको काम र बालबच्चाको हेरचाह गरे पनि उचित सम्मानसमेत नपाएको गुनासो गर्छिन् । ‘बाहिर काम गर्नेभन्दा दोब्बर श्रम गृहणी महिलाको हुन्छ । तर, महिलाको श्रमलाई मान्यता दिइँदैनन्,’ अनिशा भन्छिन्, ‘घरमा बस्नेको के काम हुन्छ र भनेर हेप्ने गरिन्छ । मैले पनि घरको काम छाडेर बाहिर काम गर्न गएको भए काम गरेर पैसा कमाउन सक्थेँ । कामको मूल्य पाउँथे ।’

महिलाले घरमा अहोरात्र खटिएर गरेको कामको मूल्यांकन गर्न नसक्नु परिवार र समाजको कमजोरी भएको उनको बुझाइ छ । यस्तै व्यथा छ, वीरगञ्ज ८ गहवाकी निर्मलादेवी रामको । दिनरात घरको काम गरे पनि कामको जस नपाएको उनको पीडा छ । ‘घरको काम सबै त महिलाको जिम्मामा हुन्छ । तर, यही कामको कुनै मूल्यांकन हुँदैन । गृहणी महिलाको श्रमको कुनै मूल्य छैन,’ महिलाहरू आफ्नो अधिकारका लागि आफैं अग्रसर हुनुपर्ने उनी बताउँछिन् ।
वीरगञ्जका सरोजदेवी, अनिशा र निर्मलाको व्यथा लाखौं गृहणी महिलाहरूको साझा समस्या हो । बिहान झिसमिसेमै उठेर मध्यरातसम्म घरको काममा खटिने गृहणीको श्रमको उचित मूल्यांकन नहुँदा महिला सामाजिक रुपमा अवहेलित र आर्थिक रुपमा परनिर्भर छन् । महिलाले गृहणीको रुपमा दिएको आर्थिक योगदानको लेखाजोखा नहुँदा राष्ट्रिय अर्थतन्त्रको आकारले पनि यसको लाभ उठाउन सकेको छैन ।

गृहणी महिलाहरुले घरका बालबालिका, वृद्धवृद्धा, बिरामी र अपांगहरूको हेरचाह, खाना पकाउने, सरसफाइ गर्नेजस्ता काममार्फत् परिवारलाई सघाउने गरेकोमा उनीहरुको कामको उचित मूल्य त परको कुरा सम्मानसमेत हुन नसकेको महिला अधिकारकर्मी निला राम बनाउँछिन् । ‘गृहणीले घरभित्रै आवश्यक सेवा प्रदान गर्दा घरका सदस्यहरू रोजगारीमा संलग्न हुन सक्षम वातावरण निर्माण भएको छ । तर, यो येगदानको अवमूल्यन भइरहेको छ ।’ गृहणीहरूले समाजमा ठूलो योगदान पु¥याइरहे पनि उनीहरूको श्रमलाई अनुत्पादक ठानेर अवमूल्यन भएको, लैंगिक विभेदको सिकार हुनुपरेको, पहिचान नपाएकोजस्ता समस्याहरू रहेको राम बताउँछिन् ।
श्रम कानूनले गृहणी महिलाको कामको मूल्यलाई सम्बोधन गरेको छैन । श्रम कार्यालय वीरगञ्जका प्रमुख प्रमुख बलराम कुशवाहा श्रम ऐनले औपचारिक क्षेत्रलाई मात्र पहिचान गरेको बताउँछन् । कृषि, घरायसी कामकाज, सेवाजस्ता क्षेत्रलाई कानूनले समेटेको छैन । ‘कहिलेकाहीँ घरायसी काममा लगाइएका कामदार महिलाले उचित पारिश्रमिक नपाएकोबारेमा उजुरी आएकोमा सहजीकरण गरिदिनेबाहेक अनौपचारिक क्षेत्रका अरु काम हाम्रो क्षेत्रधिकारमा पर्दैन,’ कुशवाहले भने, गृहणी महिलाको कामको मूल्यबारे श्रम ऐन २०७४ ले केही बोलेको अवस्था छैन ।’
समाजले घरभित्रको कामलाई कर्तव्यमात्र मानेकाले घरमा काम गर्ने महिलाको श्रमको अवमूल्यन भएको बुझाइ अधिकारकर्मीहरुको छ । महिलालाई शोषित बनाएर घरभित्र राख्ने पितृसत्तात्मक सोच समाजमा विद्यमान रहेकाले गृहणीको श्रमको अवमूल्यन भएको हो भन्छिन् दलित महिला संघ, पर्साकी उपाध्यक्ष संगीता दास । ‘बिहान घरको काम गरेर बाहिरको काममा जाने पनि छन् । काम सकेर फर्केपछि फेरि घरको काम पनि भ्याएकै हुन्छन् । घरबाहिर निस्केर काम गरे पनि तलब आएपछि कसरी खर्च गर्ने निर्णय पुरुषको नै हुन्छ,’ घरको काममा सीमित महिलाको श्रमको मूल्य त छैन नै कामकाजी महिलाहरू पनि परनिर्भर रहेको बुझाइ उपाध्यक्ष रामको छ ।

केही पालिकाहरूले गृहणी महिलालाई प्रत्यक्ष आयआर्जनमा सक्रिय बनाउन कार्यक्रमहरू ल्याएका छन् । वीरगञ्ज महानगरपालिकाले गृहणी महिलाको आयस्तर उकास्ने खालका योजना ल्याएको महानगर महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रञ्जना पडित बताउँछिन् । उता पर्साको पटेर्वासुगौली गाउँपालिकाले पनि महिलाहरूका लागि ढकिया पथिया, दुनाटपरी, सेनिटरी प्याडजस्ता उद्यममा जोड्ने योजना कार्यान्वयनमा ल्याएको पालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले बताए ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२ १६:११