नेपाली क्रिकेट इतिहासको अर्को महत्वपूर्ण अध्याय लेख्न नेपाली राष्ट्रिय टोली तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेल्न तयार भएको छ। आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि नेपालले युवा उत्साह र अनुभवी संयोजनसहितको १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।
सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको नेपाली टोलीबाट यसपटक अनुभवी सोमपाल कामी मात्र दोहोरिएका छन् भने बाँकी खेलाडीहरू कोही दोस्रोपटक त कोही पहिलोपटक विश्वकप खेल्न लागेका छन्। कप्तान रोहित पौडेलसहित ९ खेलाडी दोस्रोपटक विश्वकप खेल्दै छन् भने ५ खेलाडीले पहिलोपटक विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।
नेपालले समूह चरणका सबै खेलहरू मुम्बईस्थित ऐतिहासिक वाङ्खडे स्टेडियममा खेल्नेछ। समूह चरणमा नेपालले इंग्ल्यान्ड, इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
रोहित पौडेल
कप्तान | अलराउन्डर

लगातार दोस्रोपटक नेपाली टोलीको कप्तानी गर्दै टी–२० विश्वकप खेल्न लागेका रोहित पौडेल नेपाली क्रिकेटको नयाँ पुस्ताका नेतृत्वकर्ता हुन्। २३ वर्षे रोहित दायाँहाते ब्याटर तथा पार्ट–टाइम स्पिन बलर हुन्। २०१९ मा टी–२०आई डेब्यू गरेका रोहितले हालसम्म ७६ खेलमा ८ अर्धशतकसहित १६३७ रन बनाएका छन्। गत विश्वकपमा कप्तानका रूपमा मैदान उत्रँदै उनले ब्याट र बल दुवैबाट योगदान दिएका थिए।
दीपेन्द्रसिंह ऐरी
उपकप्तान | स्टार अलराउन्डर

आईसीसी टी–२०आई वरियतामा दोस्रो स्थानसम्म पुगिसकेका दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेटका सबैभन्दा भरपर्दा अलराउन्डर हुन्। ९० टी–२०आई खेलमा १ शतक र १० अर्धशतकसहित १९५६ रन बनाएका दीपेन्द्र २००० रनको कोसेढुंगाबाट नजिक छन्। बलिङमा ५८ विकेट लिएका उनले विश्व कीर्तिमानसमेत बनाइसकेका छन्।
सोमपाल कामी
पेस बलर | अनुभवी खेलाडी

नेपालका लागि तीनवटै टी–२० विश्वकप खेल्ने एकमात्र खेलाडी सोमपाल कामी टिमका सबैभन्दा अनुभवी सदस्य हुन्।
२०१४ मै डेब्यू गरेका सोमपालले ८६ खेलमा ८१ विकेट लिएका छन्। पेस बलिङसँगै तल्लोक्रममा ब्याटिङबाट पनि योगदान दिने क्षमता राख्छन्।
कुशल भुर्तेल
ओपनर ब्याटर

आक्रामक ओपनर कुशल भुर्तेल पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन्। ७० टी–२०आई खेलमा १ शतक र १३ अर्धशतकसहित १८०७ रन बनाएका भुर्तेलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए। पछिल्लो समय उनले लेगस्पिन बलिङ पनि गर्दै आएका छन्।
आसिफ शेख
विकेटकिपर–ब्याटर

टप अर्डरका भरपर्दा विकेटकिपर आसिफ शेख दोस्रोपटक विश्वकप खेल्दै छन्। ६८ खेलमा १० अर्धशतकसहित १६३९ रन बनाएका आसिफ गत विश्वकपमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी थिए।
करण केसी
पेस बलर | अलराउन्ड क्षमता

अनुभवी फास्ट बलर करण केसी ८५ टी–२०आई खेलमा १०६ विकेट लिइसकेका छन्। ३ पटक ४ विकेट र १ पटक ५ विकेट लिने प्रदर्शन गरेका करण तल्लोक्रममा उपयोगी ब्याटरसमेत हुन्।
सन्दीप लामिछाने
लेग स्पिन बलर

नेपालका लागि टी–२०आईमा सर्वाधिक विकेट लिने बलर सन्दीप लामिछाने विश्व क्रिकेटमा परिचित नाम हुन्।
६७ खेलमा १२९ विकेट लिएका सन्दीपले विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलेर अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन्।
ललित राजवंशी
लेफ्ट आर्म स्पिनर

लेफ्ट आर्म स्पिनर ललित राजवंशी किफायती बलिङका लागि चिनिन्छन्। ३७ खेलमा ३६ विकेट लिएका ललितको इकोनोमी ६.३७ रहेको छ। यसपटक उनलाई खेल्ने अवसरको प्रतीक्षा छ।
गुल्शन झा
युवा अलराउन्डर

१९ वर्षीय गुल्शन झा नेपाली टोलीका उदीयमान अलराउन्डर हुन्। ५१ खेलमा ६२९ रन र २९ विकेट लिएका गुल्शन दक्षिण अफ्रिकाविरुद्धको चर्चित खेलपछि चर्चा मा आएका थिए।
सन्दीप जोरा
मिडल अर्डर ब्याटर

मिडल अर्डरका आक्रामक ब्याटर सन्दीप जोराले ३८ खेलमा ४ अर्धशतकसहित ४८९ रन बनाएका छन्। दोस्रोपटक विश्वकप खेल्दै गरेका जोराले ठूला इनिङ खेल्ने क्षमता राख्छन्।
शेर मल्ल
मिस्ट्री स्पिनर | डेब्युटेन्ट

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि पहिलोपटक राष्ट्रिय टोलीमा परेका शेर मल्ल मिस्ट्री स्पिनर हुन्। १० खेलमा १७ विकेट लिँदै एनपीएलको संयुक्त शीर्ष विकेट टेकर बनेका शेर विश्वकपमै डेब्यू गर्न लागेका छन्।
बसिर अहमद
अलराउन्डर

बायाँहाते ब्याटर तथा स्पिनर बसिर अहमद मध्यक्रमका भरोसिला खेलाडी हुन्। ७ खेलमा १२३ रन बनाएका बसिर एनपीएलको प्रदर्शनका आधारमा पुनरागमन गर्न सफल भएका हुन्।
आरिफ शेख
ब्याटर | पार्ट–टाइम बलर

आरिफ शेख मिडल अर्डरमा स्थिरता दिने ब्याटर हुन्। टी–२०आईमा ५५३ रन बनाएका आरिफ पछिल्लो समयको निरन्तर प्रदर्शनका कारण टोलीमा समेटिएका छन्।
नन्दन यादव
पेस बलर

२५ वर्षीय नन्दन यादव पहिलोपटक विश्वकप खेल्दै छन्। १२ खेलमा १५ विकेट लिएका नन्दन डेथ ओभरमा बलिङ गर्ने क्षमताका लागि परिचित छन्।
लोकेश बम
ब्याटर | दोस्रो विकेटकिपर

लोकेश बम नेपाली टोलीका ब्याकअप विकेटकिपर हुन्। १८ खेलमा १६० रन बनाएका लोकेशलाई फिनिसरको भूमिकामा हेरिएको छ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०८२ १७:५२