मूलतः उच्च भूमि र मनोरम दृष्य अवलोकनलाई प्राथमिकतामा पार्दै मुलुकले नेपाल भ्रमण बर्ष २०२० को तयारी गरिरहेको छ ।मुलुकको समुन्नतिको लागि पर्यटन प्रवद्र्धनको विकास अपरिहार्यतामा परेको छ । यो कुरालाई मनन् गर्दै राज्यले पनि नेपाल भ्रमण बर्ष २०२० को तयारी गरिरहेको हो ।
पर्यटन विकासका लागि विगतमा झैं उच्च हिमाली सृंखला र पहाडी भूगोल मात्र अब छनौटमा पर्न छोडेका छन् । पर्यटकको लागि समय सापेक्ष अपार—समथल भूमि, त्यहाँका भौगोलिक दृष्य, संस्कृति र ऐतिहासिक स्थलहरु पनि आकर्षणमा पर्न थालेका छन् । तराईमा के हेर्नु ? के छ र ? भन्ने कतिपयको बुझाई अब फिक्का बन्ने भएको छ । पर्यटकको लागि सधैं उपेक्षामा परेको बाराको कलैया र सिम्रौनगढ पनि अब पर्यटकका लागि गन्तव्य बनाउन स्थानीय पनि सकृय हुन थालेका छन् । राज्य मात्रै नभएर सर्वसाधारणहरु पनि पर्यटक आकर्षित गर्ने भोक जाग्न थालेको छ । यसै मध्येका बाराको कलैया निवासी किरण विक्रम शाह पनि पर्यटकका लागि सफारी गराउने साथै निवासको लागि स्तरीय होटल बनाउन करोडौंको लगानी गरी जुटेका छन् ।
उनको यो जुटाइले मधेशमा पहाडी मुलका मानिसलाई बस्न सहज छ र ? भन्ने काठमाण्डौको प्रश्नलाई पनि गतिलो जवाफ भएको छ । होटल व्यवसायसँगै मधेश भनेको समावेशी चरित्रको भूगोल हो भन्ने सन्देश उनी जस्ताहरुबाट नै सम्भव भएको छ ।
शाहका बाजे रामराजा मोहन बिक्रम शाहले आज भन्दा १३६ बर्ष पहिले अर्थात १९४० मा निर्माण गरेको बरेवा दरबारलाई यतिवेला उनी अन्तराष्ट्रियस्तरको होटलमा परिणत गर्न जुटेको छन् । पर्यटकका लागि सिमरा, वीरगन्ज मात्र नभएर उनीहरुको बासस्थानका लागी कलैया पनि उपयुक्त छ भन्ने सन्देश दिन दिनरात लागि परिरहेको उनले बताए । यस भेगका सेवाग्राहीलाई लक्षित गर्दै सुविधा सम्पन्न होटल निर्माण गराएको शाहको भनाइ छ ।
नेपाली सेनामा लेफ्टिनेन्ट कर्नेल सम्मको पदमा पुगी जागिरबाट अवकास भएका शाहले २५ करोडको लगानीमा कलैया नगरपालिकाको कार्यालय नजिकै बरेवा दरबार कै केही संरचना भत्काएर ‘बरेवा दरबार होटल एण्ड बंंकेट’ हल सञ्चालनमा ल्याउन लागेका छन् ।
कुल १९ कठ्ठा १० धुर क्षेत्रफलमा निर्माण गरिएको होटलमा ३ सयजना अट्ने हल, प्रदेश २ कै सबैभन्दा ठूलो स्वीमिङ्ग पुल, सहायक चारवटा हल गरी रेष्टुरेन्ट लगायत स्वीट, डिलक्स र स्टयाण्डर्ड २४ वटा कोठा सहितको होटल निर्माण भइरहेको छ । गढिमाई मेलामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै यसै सातादेखि होटल सञ्चालनमा आउने सञ्चालक शाहले जनाए ।
होटलको कोठा २ हजार ५ सयदेखि ४ हजार ५ सय सम्मको हुने र मेलामा आउने दर्शनार्थीका लागी उचित बासस्थानको गन्तव्य हुने छ । यहाँबाट गढीमाई, सिम्रौनगढ लगायतका क्षेत्रमा सफारी पनि संचालन गर्ने तयारी गरिरहेको शाहको तर्क छ ।